इतिहास
नेपालमा वि.सं. १९९५ सालतिर आँपचौर, गुल्मी निवासी श्री हीरा गिरीले बर्माको सिन्धु प्रान्तबाट कफीका बीउ ल्याई आँपचौरमा रोपेर कफी खेतीको शुरुवात गरेको मानिन्छ।तर ४ दसकसम्म नेपाली कृषकहरू माझ कफी एउटा कौतुहलपूर्ण वालीकै रूपमा रह्यो ।
वि.सं. २०२० को दसकतिर नेपाल सरकारले भारतबाट कफीको बीउ ल्याइ वितरण गरेपछि कफी खेतीले बिस्तारै गति लिन थालेको बुझिन्छ । आ.व. २०४०/४१ मा रूपन्देहीको मनिग्राममा नेपाल कफी कम्पनीको स्थापना भयो ।यसले कृषकहरूले उत्पादन गरेको सुख्खा कफी खरिद गरेर आन्तरिक बजारको लागि प्रशोधन गर्ने गर्थ्यो ।२०४८ सालमा नेपाल कफी उत्पादक सङ्घको स्थापनाले कफी उत्पादकहरूलाई सङ्गठित हुन मद्दत गर्यो।
आज नेपालका ४० जिल्लाहरूमा कफी पुगिसकेको र पश्चिमाञ्चल र मध्यमाञ्चल क्षेत्रका मध्यवर्ती पहाडी क्षेत्रका २०÷२२ जिल्लामा यसले व्यवसायिक रुप लिइसकेको छ ।कफीको विकास एवम् विस्तारमा कृषि विभाग अन्तर्गतका कार्यालयहरू, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल कफी व्यवसायी महासङ्घ एवम् जिल्ला कफी व्यवसायी सङ्घहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरू र कफी कृषकहरूको महत्वपूर्ण योगदान रहेको छ ।हाल कफी खेतीले नेपालको मध्यपहाडी भागको गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ्ग, कास्की, गोर्खा, स्याङ्जा, पर्वत, बाग्लुङ लगायतका ४० जिल्लाहरूमा व्यापकता लिँदै गएको छ ।