नेपाली चिया

नेपालमा विशेषतः ३ प्रजातिको चिया खेती गरिन्छ । आसामी (Camelia asamica ) र कम्बोडियाली (Camelia asamica spp lasiocalyx) प्रजातिको चिया सिटिसी चिया उत्पादनको लागि प्रयोग हुन्छ भने चिनिया प्रजातिको चिया (Camellia sinesis) मुख्यतया अर्थोडक्स चियाको उत्पादनमा प्रयोग हुन्छ ।

चिया पारखीहरूका अनुसार नेपाली अर्थोडक्स चियाको गुण, बास्ना तथा स्वाद करिव करिव विश्वप्रसिद्ध दार्जिलिङ चियाकै जस्तो छ । दार्जिलिङकै आसपासमा रहेको इलामको हावापानी र भूबनोट पनि दार्जिलिङकै जस्तो भएकाले यस्तो समानता देखिएको जानकारहरू बताउँछन् ।कतिपय चिया पारखीहरू त नेपालको जैविक विविधता तथा विशिष्ट भूबनोटले गर्दा खासखालको चिया दार्जिलिङको भन्दा पनि उत्कृष्ठ रहेको विश्वास गर्छन् ।

त्यस्तै, नेपाली सिटिसी चिया पनि कडकपन, चमकपन र तिक्खरताका लागि प्रसिद्ध छ ।त्यसैले नेपाली चिया वास्तवमै प्रकृतिको अनुपम उत्पादन हो ।

नेपाली अर्थोडक्स चियाको मौसमी गुणहरू यस प्रकार छन् :

बसन्त बहार

  • सिजन शुरु भएपछिको पहिलो टिपाइलाई सर्वोत्कृष्ठ मानिन्छ ।
  • फागुनदेखि चैत्र भित्र टिपिसकिन्छ ।
  • पिउने अवस्थाको चियाको रङ हल्का रातोमा हरियो पहेँलो मिसिएको जस्तो हुन्छ भने बासना र स्वाद पनि उत्कृष्ठ हुन्छ ।
  • पारखीहरूले यसलाई मध्यान्नको चियाका रूपमा पिउने गर्छन् ।    

 

गृष्म बहार

  • यो बसन्त बहार पछिको टिपाइ हो ।
  • बैशाख जेठको बीचमा टिपिन्छ ।
  • पारखीहरू यसलाई सन्ध्याकालिन चियाको रूपमा पिउने गर्छन् ।

 

वर्षा बहार

  • यो चियाको टिपाइ असारपछि मात्र शुरू हुन्छ ।
  • पिउने अवस्थाको चियाको रङ गाढा रातो भने स्वाद पनि तिक्खर हुन्छ ।
  • पारखीहरू यसलाई बिहानको चियाको रूपमा पिउने गर्छन् ।

 

शरद बहार

  •  सिजन सकिनुभन्दा अगाडिको अन्तिम टिपाइ हो ।
  • पारखीहरू यसलाई बिहान दुधसँग मिलाएर पिउने सल्लाह दिन्छन् ।