गुमनाम ‘दुर्लभ’ चिया

इलाम - इलाम घुम्न आउने पर्यटक थुम्का–थुम्कामा लहलाएको हरियो चियाबारी देखेर मोहित हुन्छन्। घन्टौंसम्म चियाबारी घुम्छन्, सुस्ताउँछन् र तालतालका तस्बिर कैद गरेर फर्किन्छन्। तर त्यही सौन्दर्यमा लुकेको ‘दुर्लभ’ प्रजातिको चिया चाहिँ न झट्ट हेर्दा देखिन्छ, न तस्बिरमै आउँछ। पर्यटकले मात्र होइन, संरक्षणको जिम्मा पाएका सरोकारवाला समेतले यत्तिको महत्वपूर्ण सम्पदा वर्षाैंसम्म चिन्न सकेका छैैनन्।

नेपालमै पहिलोपटक चियाखेती गरिएको इलाम चियाबारीको चिया चिन्ने जो–कोही त्यसमा लोभिनु स्वभाविक छ। किनकि, अरूभन्दा फरक र उच्च गुणस्तरको बनाउन सकिने जातको चिया न नेपालमा अन्त कतै छ, न अन्य देशमा पनि सहजै पाइन्छ। चिया जानकारका अनुसार निजीकरण गरिएको सरकारी इलाम चिया बगानमा ‘मोति’ जस्तो चिया भएर पनि त्यसको संरक्षण र विस्तार हुन सकेको छैन। सरकारले संरक्षण क्षेत्र तोकेर अन्य क्षेत्रमा समेत बिरुवा विस्तार गर्नुपर्ने बहुमूल्य चिया अहिले सामान्य झैं उत्पादन, प्रशोधन हुँदैछ र सामान्य मूल्यमै बिक्री भइरहेको छ।

चियाको वैज्ञानिक नाम ‘क्यामेलिया साइनेसिस’ हो। तर डेढ सय वर्षअघि इलाममा देशमै पहिलोपटक चीनबाट चिया ल्याएर रोपिए पनि ‘ओरिजिनल क्यामेलिया साइनेसिस’ चाहिँ अहिले इलाम चिया बगानमा मात्रै रहेको चियाका जानकार बताउँछन्। इलाम बगानको पनि ३ र ४ सेक्सनमा मात्रै यो जातको चिया रहेको चियाविज्ञ सोनाम लामा बताउँछन्। ‘नेपालमा चियाबारी त धेरैतिर छन् तर चीनको फुजियानबाट ल्याइएको ओरिजिनल क्यामेलिया साइनेसिस कहीं छैन, इलाम बगानको पनि सीमित ठाउँमा मात्रै छ,’ उनले भने, ‘तर हामीकहाँ विश्वमै दुर्लभ हुन लागेको यो जात संरक्षण र विस्तारमा कसैले ध्यान दिएको छैन। हुन त यो महŒव धेरैलाई थाहा पनि छैन।’

विज्ञहरूका अनुसार अरू चियाको मुना हरियो हुन्छ तर यहाँको ३(ए) र ४ (ए) सेक्सनमा रहेको चियामा रातो मुना पलाउँछ। अरू चियाभन्दा यसको बोट नै बेग्लै आकारको हुन्छ। विश्वमा सर्वाधिक मूल्यमा बिक्री हुने चिनियाँको चियाको बीउ अन्य देश लैजान दिइँदैन। फुजियानबाहेक चीनकै अन्य प्रान्तमा समेत यो चियाको बिरुवा लैजाने गरिएको छैन। ‘विश्वको जुनसुकै प्रयोगशालामा पु¥याउँदा पनि यहाँको चिया उच्च गुणस्तरकै प्रमाणित हुन्छ,’ लामा भन्छन्, ‘मैले केही वर्षअघि परीक्षणका लागि यो चिया प्रशोधन गरेको थिएँ, थोरै थियो तर ज्यादै महँगो मूल्यमा बिक्री भएकाले आफैंलाई आश्चर्य लाग्यो।’ पाँच हेक्टरमा रहने चियाको एउटा सेक्सनमा करिब ३० हजार बोट हुन्छन्।

लामाले करिब एक वर्ष यो बगानको चिया अध्ययन गर्दा युरोपकै चर्चित ग्रान्ड क्यानियन कम्पनीका चियाविज्ञ ओरिभल स्कालालाई यहाँको चिया टेस्ट गराएका थिए। ‘विश्वको चिया चाखेरै ४० वर्षभन्दा बढी बिताएका स्कालाले यो बगानको चिया चाखेपछि उत्कृष्ट गुणस्तरको बनाउन सकिने सुझाव दिए,’ लामाले भने, ‘तर यत्तिको मूल्यवान भएर पनि सरकारी बगानको त्यो चिया कतै विस्तार हुन र चर्चामै आउन नसक्नु चाहिँ विडम्बना हो।’

रंग र आकारमात्र नभई यहाँको चियाको बासना पनि अरूको भन्दा फरक र आकर्षक भएको चियाविज्ञ तथा उद्योगी उदय चापागाईं बताउँछन्। प्रशोधन गर्दा पनि यो चिया तारजस्तो आकारमा अत्यन्त गुणस्तरीय बनाउन सकिने उनले बताए। ‘नेपालमा त कतै छैन, विश्वमा चियाले नाम कमाएको भारत दार्जिलिङमा पनि यो खालको चिया छैन,’ चापागाईंले भने, ‘चिया चिन्नेलाई यो जात हिरा–मोति नै हो भन्दा फरक पर्दैन।’

चिया विस्तार गर्दा बिरुवाबाट गरिन्छ तर यहाँको चिया चाहिँ दानाबाट उत्पादन भएकाले पनि पुरानै जात अहिलेसम्म बाँकी रहेको चियाविज्ञ लामा बताउँछन्। ‘ठाउँ परिवर्तन गर्दै खेती गर्दा जुनसुकै बीऊ र बिरुवाले त्यहीँको हावापानीअनुसार जात बदल्छ,’ लामाले भने, ‘तर, इलाम बगानमा पहिलोपटक रोपिएको चिया अहिलेसम्म पुरानै ओरिजिनल जातमा बाँचेको छ।’

विज्ञ लामाले यो चियाको डाँठ जापानको प्रयोगशालामा परीक्षण गराउनु आवश्यक रहेको बताए। ‘मुनाको मात्र होइन, बोटकै परीक्षण गराउँदा अझ महत्वपूर्ण विशेषता खुल्न सक्छन्,’ उनले भने, ‘फुजियानको गौसानमा हिमाली हावापानीमा विकास भएको जात हो यो।’ उद्योगी चापागाईंले सरकारी चिया बगानमा रहेको यो चिया संरक्षण र विस्तारमा सरकारले नै पहल गर्नु आवश्यक भएको बताए। ‘यो चिया नेपालका अन्य क्षेत्रमा त विस्तार गर्नुपर्छ नै, विदेशीहरूसमेतले महँगो मूल्यमा यसको बीऊ र बिरुवा लैजान सक्छन्,’ चापागाईंले भने, ‘महŒव नै नबुझेर वर्षाैं बितेको छ, अब ढिलो गर्नुहुँदैन।’

इलाम बगानमा चिया खेती सुरु गर्नुको महत्व इतिहाससँग मात्र होइन, चीन–नेपालको कूटनीतिक सम्बन्धसँगसमेत जोडिएको छ। १९२२ सालमा चिनियाँ सम्राटले तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणालाई उपहारका रूपमा पठाएको चिया इलामका बडाहाकिम गजराजसिंह थापाले इलाम सदरमुकाममा खेती गर्न लगाएको इतिहास छ। नेपाल–चीन बेत्रावती सन्धिअनुरूप चीनले नेपाललाई कोसेलीका रूपमा पठाएको चिया इलाममा रोपिएको इलाम नगरपालिकाले जनाएको छ। मेयर महेश बस्नेत चीनमा समेत यो जातको चिया मासिइसकेको भन्दै इलाम बगानमा रहेको चिया दुर्लभ भएको बताउँछन्। ‘इलामको चियाबारी नेपालकै इतिहास त हुँदै हो, यहाँको चियासमेत विशेष महत्वको छ,’ उनले भने, ‘तर यसको पहिचान र संरक्षणका लागि कार्यक्रम ल्याउनुपर्छ।’

केही महिनाअघि काठमाडौं आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको रात्रिभोजमा समेत इलामको चिया राखिएको थियो। इलाम क्षेत्र नम्बर २ का सांसद तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले इलामको चियासँग जोडिएको चीन र नेपालको सम्बन्धबारे राष्ट्रपति सीलाई सूचना भएको बताए। नेम्बाङकै पहलमा इलामको चिया राष्ट्रपति सीको रात्रिभोजमा परेको थियो।  

नेपाल–चीनबीच १८४९ भदौ ६ मा भएको सन्धिको एउटा बुँदामा नेपालले चिनियाँ सम्राटका लागि उपहारको पञ्चवर्षीय मिसन पठाउने, चिनियाँ सरकारले नेपाली मिसनको खर्च तिर्ने, यातायातको सुविधा दिलाउने र उपहार फिर्ता पठाउने उल्लेख छ। नेपाल र तिब्बतबीच व्यापारिक तथा मौद्रिक कारणले सम्बन्ध तनावपूर्ण रहेकामा १८३२ सालमा खासामा सन्धि भएको थियो। १८४५ असार १० मा पहिलो र १८४८ मा दोस्रोपटक नेपाल–चीन युद्ध भएपछि नेपालको बेत्रावतीमा दुई देशबीच सन्धि भएको थियो। तर पुनः १९११ फागुनमा तेस्रोपटक नेपाल–तिब्बत युद्ध घोषणा भएपछि १९१२ चैतमा थापाथलीमा अर्काे सन्धि हुँदा पनि ‘नेपाल र तिब्बत दुवैले चिनियाँ वादशाहलाई आदर गर्ने’ उल्लेख भएको इतिहास भेटिन्छ। सन्धिअनुसार नै चीनले नेपाललाई चिया कोसेली पठाएको थियो।

तर इलाम बगानमा रहेको ओरिजिनल जातको चिया जिल्लाकै अर्काे सोक्तिम बगानमा पनि हुन सक्ने डा. योगेन्द्रमान श्रेष्ठ बताउँछन्। ‘२०३४ सालअघि रोपिएको चिया त ओरिजिनल जात नै भेट्न सकिन्छ भन्ने लाग्छ,’ उनले भने, ‘त्यसपछि मात्र भारतको आसामतिरबाट हाइब्रिड चिया यहाँ भित्रिएको हो।’
....................
इलाम चिया बगान।

तस्बिर ः भीम÷नागरिक

स्रोतः नागरिक दैनिक

प्रकाशित मितिः २०७६ माघ १४

Image